लेटाङ घटनाबारे छानबिन गर्न एसएसपी चौधरीको नेतृत्वमा समिति
काठमाडाैं, चैत ९ : मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाइएको छ। बुधबार प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ...
काठमाडाैं, चैत ९ : मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।
बुधबार प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो।
समितिले घटना के–कसरी भयो र त्यसमा के–कस्तो कमजोरी भए भन्नेबारे अनुसन्धान गर्ने र प्रतिवेदन बुझाउने जनाइएको छ। प्रतिवेदन बुझाउने समयसीमा भने तोकिएको छैन।
गत आइतबार लेटाङ नगरपालिका–१ स्थित शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडप भएको थियो। त्यसक्रममा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। प्रहरी उपरीक्षक जनार्दन जिसीसहित ३० जना घाइते पनि भएका थिए।
शुक्रबार होलीका दिन एक शिक्षकले छात्राको घरमा पुगेकाबेला दुर्व्यवहार गरेको आरोप लागेपछि सोही विषयलाई लिएर विद्यालयमा छलफल भइरहँदा झडप भएको थियो।
प्रहरीले आरोपित शिक्षकलाई बचाउन खोजेको भन्दै भिडले आक्रमण गरेको थियो। यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा पनि लिएको छ।
उनीहरुमाथि अनुसन्धान भइरहेको मोरङ प्हरीको भनाय छ। सो घटनाका कारण बुधबारदेखि मोरङमा लगाइएको कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ।












