उद्यमशीलताको प्रवर्धनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री कार्की
काठमाडाैं, चैत ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।बुधबार काठमार्डौंमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो...
काठमाडाैं, चैत ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार काठमार्डौंमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक बिकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
मन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताए। सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उनले बताए।
सरकारले स्थापना गरेको एकल विन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यवसायिक गतिविधि बढाउन सहयोग मिलेको उनको भनाइ थियो। उनले व्यवसाय प्रवद्र्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले सोसम्बन्धी नीति परिमार्जन गरेको बताए।
त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै उनले भारत र नेपालका युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
क्लक वि विजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’को तेस्रो संस्करणका रुपमा सम्मेलनको आयोजना गरिएको हो। ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो।











