ऊर्जामन्त्री भुसाल र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ, ९ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा...
काठमाडौँ, ९ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको हो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको बताइन् ।
ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले नेपाललाई सहयोग गर्दै आएको छ । आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेका उनले बताइन् ।
जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नु परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् ‘जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।’ उनले मनाङ्, इलाम, सिन्धुपाल्चोक लगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताइन् ।
यस्तै, राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने जानकारी दिइन् । उनले जलविद्युतको क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी दिइन् । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे समेत चासो व्यक्त गरेकी छन् ।











