Kathmandu Press

साइबर सेक्युरिटीमा समस्या देखिएपछि सीआईबीले बोलायो बैंकर

काठमाडौं, असोज १३ : बैंकहरूमा ह्याकरको आक्रमण बढेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (....

साइबर सेक्युरिटीमा समस्या देखिएपछि सीआईबीले बोलायो बैंकर
फाइल फोटो

काठमाडौं, असोज १३ : बैंकहरूमा ह्याकरको आक्रमण बढेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएको छ।

सीआईबीले आकस्मिक रुपमा सबै सीईओलाई सोमबार बिहान ११ बजे बोलाएको हो। छलफलमा सबै सीईओ सहभागी भएका छन्। साइबर सेक्युरीटीका सम्बन्धमा थप चासो देखाउँदै सीआईबीले छलफलका लागि बोलाएको एक बैंकरले बताए।

ह्याकिङ प्रकरणमा बैकहरूको साइबर सेक्युरिटीमा केही कमजोरी भएको शंका लागेपछि सीआईबीले सुधारका उपाय खोज्नका लागि छलफलको आयोजना गरेको जनाएको छ। एकै महिनामा ह्याकरले दुई वटा बैंकमा चोरी गरेपछि प्रहरीले साइबर सेक्युरिटीमा चासो दिएको हो।

गत महिनामात्रै चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएम ह्याक गरी साढे तीन करोड रुपैयाँ चोरी गरेका थिए। त्यस्तै, केही दिनअघि कृषि विकास बैंकका कर्मचारीको पासवर्ड प्रयोग गरी करिब ६ करोड चोरी भएको थियो।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, असोज १३, २०७६