पर्वतारोहण सङ्घको वार्षिक साधारणसभा स्थगित
काठमाडौं, चैत ९ : नेपाल पर्वतारोहण सङ्घको २१औँ वार्षिक साधारणसभा स्थगन भएको छ।आज लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई...
काठमाडौं, चैत ९ : नेपाल पर्वतारोहण सङ्घको २१औँ वार्षिक साधारणसभा स्थगन भएको छ।
आज लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सङ्घले जनाएको छ।
सङ्घका महासचिव कुलबहादुर गुरुङले साधारणसभाको सम्पूर्ण तयारी भइसकेको अवस्थामा स्थगन गर्नु दुःखद विषय भएको बताए। उनले केही व्यक्तिहरुको स्वार्थका कारण संस्थाविरुद्ध मुद्दा मामिला गरेर संस्थाको साख गिराउने कार्य आपत्तिजनक भएको टिप्पणी गरे। महासचिव गुरुङले सम्मानित अदालतको निर्णयलाई दृष्टिगत गरी तत्कालका लागि साधारणसभा स्थगन गरिएको बताए।
उच्च अदालत पाटनले मंगलबार अल्पकालीन आदेश जारी गर्दै सङ्घको साधारणसभा नगर्नु नगराउनु भनी आदेश दिएको हो।
सङ्घको नियमित वार्षिक साधारणसभा नगर्नु नगराउनु भनी सङ्घका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र सोलुखुम्बु घर भई हाल काठमाडौँ बस्ने आङनोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्दामा उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले साधारणसभा स्थगन गरिएको सङ्घले जनाएको छ।











