लाप्राकमा वैशाख पहिलो साता 'ग्रामीण चलचित्र महोत्सव’
काठमाडौं, चैत ९ : वैशाख पहिलो साता ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ।सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको लाप्राकमा वैशाख ५ देखि ७...
काठमाडौं, चैत ९ : वैशाख पहिलो साता ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ।
सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको लाप्राकमा वैशाख ५ देखि ७ गतेसम्म महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथाबस्तुमा बनेका चलचित्रलाई सहभागी गराइनेछ।
आजैबाट चलचित्रको दर्ता प्रक्रिया पनि सुरुआत भएको छ। महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले [email protected] मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन्।
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्।
जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी र दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कशप हुने र चलचित्रकर्मीबीच ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्रिया हुने र उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिए।
कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ। नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सापकोटाको भनाइ छ।
यस किसिमका महोत्सव तथा चलचित्रसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौं तथा मुख्य शहरमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय बासिन्दाबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ।











