रोकियो एनआरएनए विभाजन, चैत १० र ११ गते एकता महाधिवेशन गर्ने सहमति
१०औं महाधिवेशन र निर्वाचनका विषयमा ६ महिनादेखिकाे विवाद अन्त्यका लागि अध्यक्षका तीनै प्रत्यासीले सहमति गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन्।
काठमाडाैं, चैत ८ : विभाजन नजिक पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विभाजन तत्कालका लागि टरेको छ। अध्यक्षका तीन प्रत्यासी डा.बद्री केसी, कुल आचार्य र रविना थापाबीच सहमति भएसँगै एनआरएनएको विभाजन टरेको हो।
१०औं महाधिवेशन र निर्वाचनका विषयमा ६ महिनादेखिकाे विवाद अन्त्यका लागि अध्यक्षका तीनै प्रत्यासीले सहमति गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन्। मंगलबार संघको सचिवालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चैत ११ र १२ गते एकता महाधिवेन गर्ने सहमति भएको जनाए।
‘विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था भएको वास्तविकतालाई हृदयंगम गर्दै संस्थाको एकता नै सम्पूर्ण गैरआवसीय नेपलाीहरको चाहाना भएको भावनालाई आत्मसाथ गर्दैै संघको एकतालाई अक्षुण राख्ने सहमति गरेका छौं । सहमतिको प्रणालीबाट संघको नेतृत्व गर्ने गरी महाधिवेशन सम्पन्न गर्ने सहमतिमा पुगेका छौं,’ अध्यक्षका तीन जना प्रत्यासीद्वारा जारी प्रेसविज्ञप्तिमा भनिएको छ ।
सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिनेछन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुनेछ ।
अहिलेको सहमति कार्यान्वयन गर्न १०औं महाधिवेशनबाट विधानमा आवश्यक संशोन गर्न प्रस्ताव लगिने पनि उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिए। यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।

संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको अध्यक्षका उम्मेदवार कुल आचार्यले बताए । उनले भने, 'पदभन्दा पनि पद्दतिका लागि एकजुट हुनु परेको छ। संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता हो।’
आचार्यले यअसघि भएका सम्पूर्ण कार्यहरु स्थगित गर्ने सहमति भएको पनि बताए। यसक्रमा धेरै उतारचढाव भएको र चुनावमुखी एनआरएनए जस्तो देखिएको उल्लेख गर्दै उनले अहिलेको निर्णयले केही साथीहरुलाई ठेस पुर्याएको भए क्षमा गर्न आग्रह गरे। उनले आफूहरु सबै कुरालाई त्यागेर संस्थालाई बचाउन अगाडि बढेको बताए।
अध्यक्षका अर्का उम्मेदवार डा.बद्री केसीले अहिले एनआरएनएमा आमसहमति गर्नुको विकल्प नरहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वास्र्थलाई माथि राखेर अगाडि बढ्नु पर्नेमा आफूहरु सहमत भएको बताए।

‘संस्थाले गरेको बाहेक अन्य समानान्तर गतिविधिहरु बन्द हुनेछन् । ति गतिविधिहरुलाई परराष्ट्र मन्त्रालयले चिठी लखेर बन्द गराउने छ । अब सबै मुद्दा मामिलाहरु फिर्ता हुनेछन्, खारेज हुनेछन्,’ डा. केसीले भने, ‘हामी एक भएर, सबैको अस्तित्वलाई स्वीकार गरेर संसारभरका गैरआवासीय नेपालीहरुलाई पहिलाझैं एकै ठाउँ उभिन सक्नेगरी अगाडि बढ्ने छौं।’
अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ–आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ ।











