पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह
काठमाडौं, चैत ८ : नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव...काठमाडौं, चैत ८ : नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ ।
भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिएका हुन् ।
सबै भन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शुन्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो, भने नेपालले धेरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाई थियो ।
यस्तै राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजिकरण गरीदिन पनि आग्रह समेत गरे । जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई थियो ।











