चीन विमान दुर्घटना : २० घन्टा बितिसक्दासम्म यात्रुको अवस्था अज्ञात

काठमाडौं, चैत ८ : चीनको दक्षिण प्रान्तमा आइतबार भएको विमान दुर्घटना भएको २० घण्टा बितिसक्दा पनि त्यसमा सवार यात्रुहरुको अवस्थाबारे कुनैपनि जानकारी प्राप्त गर्न नसकिएको चिनियाँ अधिकारीहरुले बताएका छन्।
१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो। चिनियाँ सञ्चारमाध्यमहरुले हालसम्म पनि कसैलाई जीवित फेला पार्न नसकिएको बताएका छन्।
दुर्घटनाको सूचना पाएलगत्तै चिनियाँ सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार पहाडी क्षेत्रमा बिजुलीको प्रवन्ध नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । सञ्चार प्रवन्धका लागि एक ड्रोन बेससमेत स्टेशन स्थापना गरिएको थियो।
दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले सबै बोइङ ७३७–८०० विमानको उडान रद्द गरेको छ । सो एयरलाइन्सले आफ्नो वेबसाइटको रंग पनि परिवर्तन गरेर ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।











