पर्यटन प्रवर्द्धनका लागि आन्तरिक ट्राभल मार्ट
काठमाडौं, चैत ८ : आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु...
काठमाडौं, चैत ८ : आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ।
यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश १ को धरानमा ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना गर्ने भएको छ। बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्न बोर्डको चालु आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रमअनुरूप यी कार्यक्रम सञ्चालन गरिएको कार्यकारी प्रमुख रेग्मीले बताए।
यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत फागुन २६, २७ र २८ गते ‘वेस्टर्न ट्राभल मार्ट’ सम्पन्न भएको छ। उक्त मार्टमा नेपालगञ्ज शहरलाई गेटवे अफ कर्णालीका रूपमा प्रवर्द्धन गरिएको थियो।
त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश १ को धरानमा इष्ट टुरिज्म मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी चैत २५, २६ र २७ गते ‘फारवेष्ट ट्राभल मार्ट’ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ।
यी मार्टहरुमा सीमावर्ती भारतीय सहरका टुर अपरेटरलाई क्रेताका रूपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकबीच यस क्षेत्रका टुर प्याकेज बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ। यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलका साथ प्याकेजको प्रवर्द्धन गरिने बोर्डले जनाएको छ।












