पानीको संरक्षण गर्नु साझा जिम्मेवारी हो: प्रधानमन्त्री देउवा
काठमाडौं, चैत ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र...
काठमाडौं, चैत ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
हरेक वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवस यस वर्ष ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्द्धन गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ। यसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भूमिगत जलस्रोतको संरक्षण र संवर्द्धनमा आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सबैमा आह्वान गरेका छन्।
संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने उल्लेख गरेका छन्। त्यसैले यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उनले बताएका छन्।
देउवाले मुलुकमा सङ्घीय शासन व्यवस्था लागू भएपश्चात् एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको अवगत गराएका छन्।
विश्व पानी दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्न अभिप्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन्।











