नेकपाको आयतित वाद र पथले राष्ट्रियता कमजोर हुन्छ: देउवा
बनेपा, असोज १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपाले चिनियाँ राष्ट्रपति सी चिन फिङ पथ आयात गरेर राष्ट्रियता....
बनेपा, असोज १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपाले चिनियाँ राष्ट्रपति सी चिन फिङ पथ आयात गरेर राष्ट्रियता कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।
आइतबार नेपाल शिक्षक संघ काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आयतित वाद र विचारले मुलुकको राष्ट्रियता खतरामा पर्ने बताए। ‘सी पथ हो कि लेनिन पथ हो कि माक्स पथ हो। कुनैले पनि नेपाललाई बलियो बनाउँदैनन्’ देउवाले भने, ‘नेपाललाई बलियो बनाउन र नेपाली राष्ट्रियता बलियो बनाउन नेपाली पथ र नेपालीवाद नै चाहिन्छ।’
उनले राजनीतिक दलहरुले कुनै पनि देशको वाद जस्ताको तस्तै बोक्नु भनेको राष्ट्रियतामाथि प्रहार गर्नु भएको पनि बताए। वर्तमान सरकारले जनताका हितमा काम नगरेको बताउँदै देउवाले राष्ट्रियता बचाउन र मुलुक समग्र विकासका लागि अब कांग्रेसको विकल्प नभएको पनि बताए।
‘कम्युनिष्टहरुले विदेशीवाद र पथ भनेर मुलुक सक्न लागे’ देउवाले भने, ‘राणा शासन फालेको, राजा फालेको कांग्रेस अब यस्तै भए कम्युनिष्ट फाल्न अघि बढ्ने छ।’






