आयोग परिसरबाट मतपेटिका भण्डारण र मत गणनास्थलको दृश्यावलोकन गरिने
काठमाडौँ, चैत ७ : राष्ट्रिय मान्यता प्राप्त बाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ मध्ये ५८ राजनीतिक दलले जिल्लास्तरको सङ्गठन संरचनासहितको...
काठमाडौँ, चैत ७ : राष्ट्रिय मान्यता प्राप्त बाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ मध्ये ५८ राजनीतिक दलले जिल्लास्तरको सङ्गठन संरचनासहितको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
ती दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्न जिल्लास्थित सङ्गठन संरचना विवरण उपलब्ध गराउन आइतबारसम्मको समयसीमा प्रदान गरिएको थियो।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले ७३ राजनीतिक दललाई जिल्लास्तरको सङ्गठनात्मक संरचनाको विवरण उपलब्ध गराउन पत्राचार गरेकामा ५८ दलबाट प्राप्त विवरण अध्ययनका क्रममा रहेको बताए।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी तुल्याउने सिलसिलामा आयोगले प्रचलित कानुनअनुसार ती दललाई विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका भण्डारण तथा मत गणनास्थलको अनुगमन र दृश्यावलोकन आयोग परिसरबाटै गर्ने भएको छ।
अवलोकन प्रणाली जडान गर्ने सन्दर्भमा आवश्यक व्यवस्था मिलाउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय निकायलाई अनुरोध गरेको छ। स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोगले यही चैत १५ गतेदेखि ११०२ नम्बरको टोल फ्रि नम्बर रहने गरी कल सेन्टर सञ्चालन गर्न लागेको छ। उक्त नम्बरमा आम नागरिक तथा सरोकारवालाले आफ्ना जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने व्यवस्था मिलाएको छ।
नेपाल कानुन समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त तथा निर्वाचन विज्ञको सहभागितामा मुलुकका सात प्रदेशलगायत १५ जिल्लामा यही चैत ९ देखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल र अन्तक्रिया गर्ने भएको छ।
निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने उद्देश्यले आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन २०७८ निर्देशिका स्वीकृत गरेको छ। निर्वाचनका लागि आयोगले आउँदो वैशाख ११ गतेदेखि सुरु हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरिसेको छ।












