न्यौपाने दम्पतीको बच्चाको उपचारमा ग्राण्डी अस्पतालको गम्भीर त्रुटि : मेडिकल काउन्सिल
काठमाडौं, असोज १२ : नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरे न्यौपानेको बच्चाको उपचारमा ग्राण्डी अस्पतालले गम्भीर त्रुटि गरेको ....

काठमाडौं, असोज १२ : नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरे न्यौपानेको बच्चाको उपचारमा ग्राण्डी अस्पतालले गम्भीर त्रुटि गरेको ठहर गरेको छ।
ग्राण्डी अस्पतालले आफ्नो बच्चाको उपचारमा ठूलो लापरवाही गरेको भन्दै न्यौपाने दम्पती गत जेठ ८ गते मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। उजुरीपछि काउन्सिलले प्रा.डा. गणेश राईको संयोजकत्वमा छानविन समिति बनाएको थियो।
पटक–पटक शिशुको टाउकोमा शल्यक्रिया गरिएको, बच्चाका परिवारले उपचारप्रति आशा जगाएर बसेको तर पछि बिरामीको अवस्था नाजुक हुँदै जाँदा पनि अस्पतालले मानवीय समवेदनशीलतामा पनि सावधानी नदेखाएको काउन्सिलको ठहर छ।
अस्पतालले काउन्सिलको आचारसंहिता विपरीत कार्य गरेको पाइएकाले उपचारमा संलग्न न्यूरो शल्य चिकित्सक एवं बालरोगसँग सम्बन्धित चिकित्सकको टोलीलाई कानून अनुसार कारवाही गर्न सिफारिस गरिएको काउन्सिलका रजिष्टार दिलिप शर्माले बताए।
न्यौपाने दम्पतीको बच्चाको उपचारमा चिकित्सक, स्वास्थ्यकर्मीसँगै उपचारका क्रममा प्रशासनिक, व्यवस्थापकीय कमजोरी पनि देखिएकाले अस्पतालसँग समेत स्पष्टिकरण मागिएको उनले बताए।
२०७५ असार १२ गते ग्राण्डी अस्पतालमा एकताले शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन्। बच्चा जन्माएको केही समयमै एनआइसीयूमा राखेर उपचार गर्दा बच्चालाई संक्रमण भएको थियो।
पीडित सञ्जीव न्यौपानेले भने बच्चाको उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कडा कारवाही गर्नु पर्ने माग गरेका छन्।











