Kathmandu Press

चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत खानेपानी : प्रधानमन्त्री

काठमाडाैं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गरेका छन्। उहाँले इन्द्राणी...
चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत खानेपानी : प्रधानमन्त्री

पाँचथर, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गरेका छन्। 

उनले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेका हुन्। सो आयोजनाबाट तुम्बेवा गाउँपालिका-१, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ। 

सो अवसरमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पुर्‍याउने बताए। 'स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व हो,' उनले भने, 'सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकिएको छैन् । खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ । यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्छ।' 

प्रधानमन्त्री देउवाले चालु १५औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनःनिर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

खानेपानीमन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको उल्लेख गर्दै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत् महसुल छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए। 

विसं २०७४ असारबाट सुरु गरिएको सो आयोजना रु ४५ करोड २० लाख नौ हजार ४०६ को लागतमा सम्पन्न भएको हो । आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने आयोजनाले जनाएको छ। 

तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो।

यस कार्यका लागि ११ केभिएको विद्युत् प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ।

आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।

१ हजार ६०४ घरधुरीमा खानेपानी पुर्‍याउनुपर्ने लक्ष्य लिएको भए पनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको सङ्घीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए।

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्