निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाप्रति ओलीकाे आपत्ति
काठमाडाैं, चैत ७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ति जनाएका छन्।काठमाडौंमा सोमबार बसेको एमाले पोलिटब्युरो...
काठमाडाैं, चैत ७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाप्रति आपत्ति जनाएका छन्।
काठमाडौंमा सोमबार बसेको एमाले पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने लगायतका आयोगको व्यवस्थाप्रति आपत्ति जनाएका हुन्।
ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे। उनले स्थानीय तह निर्वाचनको तयारीका विषयमा आयोगले गठबन्धन दलसँग मात्र परामर्श लिएको आरोप लगाए।
त्यस्तै उनले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताए। उनले एमालेको सांसदसम्बन्धी मुद्दालाई प्रभावित पार्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव अघि सारेको उल्लेख गरे।
उनले आफ्ना स्वार्थका लागि न्यायलयप्रति अनावश्यक टिप्पणी नगर्ने धारणा राखे। त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको दोहोर्याए।
अध्यक्ष ओलीले अहिले देशभर एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमालेप्रतिको भरोसा बढाउने काम गर्नुपर्ने बताए।












