लेटाङ घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री
विराटनगर, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन्।आज (सोमबार) मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा बनाइएको...
विराटनगर, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन्।
आज (सोमबार) मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा बनाइएको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन्।
लेटाङस्थित एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दुराचार गरेको भन्दै आइतबार स्थानीय प्रदर्शनमा उत्रिएका थिए। विद्यालय प्रशासनले कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाका लागि प्रहरीलाई बोलाएको थियोृ। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा घाइते भएकी एक महिला प्रहरीको मृत्यु भएको थियो।
सलकपुरमा प्रशासनिक भवन शिलान्यासअघि देउवाले सोही नगरपालिकाले निर्माण गरेको अस्पतालको पनि उद्घाटन गरेका थिए।
सोही कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताए।
सोमबार बिहान मोरङ आएका देउवा पाँचथर र खोटाङ हुँदै काठमाडौँ फर्कनेछन् ।











