लेटाङ घटना : महिला प्रहरीको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ
काठमाडौं, चैत ७ : मोरङको लेटाङमा महिला प्रहरीको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी...
काठमाडौं, चैत ७ : मोरङको लेटाङमा महिला प्रहरीको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेको जानकारी दिएका छन्। प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।
मोरङको खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई पटकपटक यौन दुव्र्यवहारको प्रयास गरेको थाहा पाएपछि स्थानीय आक्रोशित बनेका थिए। स्थितीलाई नियन्त्रणबाहिर जान नदिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
भिड नियन्त्रणबाहिर गएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो। आइतबार दिनभरि प्रहरी र आक्रोशित भिडबीच झडप भएको थियो । साँझ घरेलु हतियारसहित आएका स्थानीय युवाहरुले प्रहरीमाथि आक्रमण गर्दा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको थियो। घटनामा एसपी जिसीसहित २५ प्रहरी र ७ स्थानीय घाइते भएका छन्।
घटनापछि लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ।
घटनाबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको डिएसपी मुकारुङले जानकारी दिएका छन्।











