तनहुँमा कांग्रेस नेता रिजाललाई नेकपाका कार्यकर्ताले बाटोमै रोके तीन घण्टा
दमौली, असोज १२ : तनहुँको रिसिङ गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई सत्तासीन दल नेपाल कम्युनिष....

दमौली, असोज १२ : तनहुँको रिसिङ गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका छन्।
गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेस नेता एवं पूर्वमन्त्री डा. रिजालबाट गराउने निर्णय गरेको थियो। यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो। तर, नेकपा कार्यकर्ताहरुले तनहुँ सदरमुकाम दमौलीबाट रिसिङ गाउँपालिका जाने बाटो भत्काएर अवरोध गरेका छन्। तनहुँको भीमादबाट ऋषिङ उक्लिँदै गरेका रिजाल, नेता ध्रुव वाग्ले, कांग्रेस कार्यवाहक जिल्ला सभापति जितप्रकाश आलेसहितको टोलीलाई सडकमै रोकिएको थियो।
नेकपाले गाउँपालिकाको कार्यालय ढुंगाडेमा राख्नुपर्ने माग गरे पनि गाउँ सभाले गत वर्ष नै पोखरीभञ्ज्याङमा राख्ने निर्णय गरेको थियो। सोही निर्णयपछि आइतबार शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका रिजाल टोलीसहित त्यसतर्फ जाने क्रममा अवरोध गरेका हुन्।
तीन घण्टा सडकमा रोकिए पनि पछि नहटेपछि कार्यकर्ताको सहयोगमा रिजालको टोली अवरोध छल्दै अघि बढेको थियो। साँझ ५ बजेसम्म बन्द आह्वान भएको भन्दै सवारीमा गएका नेताहरुलाई हिँडेर जान पनि अवरोध गरिएको थियो।
तनहुँमा रहेका कांग्रेस नेता रिजालले प्रधानमन्त्री केपी ओलीको विरोध कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने अनि अन्य पार्टीका नेता कार्यकर्ताको बाटो अवरोध गर्न कार्यकर्ता उतार्ने कस्तो शैली भनेर प्रश्न गरेका छन्।
तर, अवरोधमा संलग्न नेकपाका सचिवालय सदस्य हरिराज कँडेलले आफूहरुको पूर्वनिर्धारित कार्यक्रम बिथोल्न खोजिएकाले अवरोध गरिएको बताएका छन्। गाउँपालिकाको केन्द्र आफूले भनेको ठाउँमा नहुने भएपछि नेकपाले केही दिनअघि नै आजका लागि बन्द घोषणा गरिएको उनले बताए।
यसैबीच, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्ति जारी गरी गाउँपालिकाको भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौँ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले मण्डले शैलीमा कांग्रेस नेता डा रिजाललाई अवरोध गरेको आरेप लगाएका छन्।
पौडेलले नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरेर नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेको पौडेलको आरोप छ। पौडेलले सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारविरुद्ध लोकतन्त्र जोगाउन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।











