कृषि विकास बैंक ह्याक प्रकरणः लहान शाखाका कर्मचारी पक्राउ
काठमाडौं, असोज १२ : कृषि विकास बैंकको सिष्टम ह्याक गरी झण्डै पाँच करोड रुपैयाँ चोरी भएको प्रकरणमा संलग्न भएको आशंकामा बैंकका लहान शाखाका एक कर्मच....
काठमाडौं, असोज १२ : कृषि विकास बैंकको सिष्टम ह्याक गरी झण्डै पाँच करोड रुपैयाँ चोरी भएको प्रकरणमा संलग्न भएको आशंकामा बैंकका लहान शाखाका एक कर्मचारीलाई पक्राउ गरिएको छ।
प्रहरीले आइतबार बैंकका लहान शाखाका लोन विभागका प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरेको हो। प्रहरीले पैसा चोरी प्रकरणमा बैंकका कर्मचारीको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धानका लागि लोन विभागका प्रमुख साहलाई पक्राउ गरिएको जनाएको छ।
यसअघि प्रहरीले शुक्रबार महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने र गणेश बस्याललाई पक्राउ गरेको थियो। भट्टको खातमा ४५ लाख र मालतीदेवीको खातामा २४ लाख रुपैयाँ भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका बस्याल भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसँग सम्पर्क हुने गरेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट मालतीदेवी र यसअघि पक्राउ परिसकेका रामकृष्ण भुसाललाई बस्यालले रकम पठाउन लगाएको खुलेको एसएसपी थापाले जानकारी दिए।बैंकको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले यसअघि नै १६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ।
ह्याकरले बैंकको लहान शाखामा रहेको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको खातामा पठाएर निकालेका थिए।






