सगरमाथा शिखरको बाटो बनाउन आठ जना आधारशिविरमा

सोलुखुम्बु, चैत ७ : सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधारशिविर पुगेको छ।
लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधारशिविर पुगेको हो। गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।
टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्नेछ। 'अहिले टोली आधारशिविरमा बसेको छ,' उनले भने, 'विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ।'
आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन्। भ¥याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन्। आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ।
यससँगै पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ। वसन्त ऋतु सुरु भएसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ।
कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन। अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताए।
अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए। लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन्।
हिउँदमा काठमाडौंबाट लुक्ला खाली आउने र लुक्लाबाट उल्लेख्य सङ्ख्यामा यात्रु लिएर फर्कने जहाज अहिले यात्रुविना फर्कने गरेका छन्। चिसो मौसममा खुम्बु छाड्ने यात्रुको सङ्ख्या अत्यधिक हुने भए पनि पर्यटक आगमनको याम सुरु भएसँगै भित्रिने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ। असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म खुम्बु क्षेत्रमा पर्यटक आउजाउ बढ्छ। (रासस)












