कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार
कपिलबस्तु, चैत ६ : कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ।होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा...
कपिलबस्तु, चैत ६ : कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ।
होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ। होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।
विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए। विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन्। झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए।
विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो। झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ।











