Kathmandu Press

राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडाैं, चैत ६ : नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ।  

दक्ष जनशक्ति विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएका हुन।

Hardik ivf

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै महिला दिदीबहिनीले पद प्राप्तिका लागि लागिरहनुुपर्ने बताउँदै पद प्राप्त भए पनि वा नभए पनि सङ्घर्ष गरिरहनुपर्ने धारणा व्यक्त गरे। उनले संविधानले व्यवस्था गरेअनुसार कांग्रेसमा महिला सहभागिता बढ्दै गएको र अझै थप उपलब्धिका लागि लागिरहन आग्रहसमेत गरे।

नेता सिंहले स्थानीय चुनाव नजिकिँदै गर्दा पार्टीको उम्मेदवारको टिकटको आशा राख्नु स्वाभाविक भए पनि उम्मेदवार हुनका लागि टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए। साथै उनले समय कम भएकाले घरघर टोलटोलमा गएर कांग्रेसका उम्मेदवार र कांग्रेसलाई विजय गराउन सबै लाग्नुपर्ने समेत बताए।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बाँनियाले जिल्लाका १० वटै सङ्घीय क्षेत्रमा महिला सहभागी भई छुट्टै कार्यक्रम गर्न आफूले सहयोग गर्ने बताउँदै त्यसका लागि सबै महिला पनि सक्रिय हुनुपर्ने बताए। काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको संविधान र कानूनले व्यवस्था गरेअनुसार राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितता गर्नका लागि राजनीतिमा महिला सहभागिता वृद्धि हुनु जरुरी रहेको उल्लेख गरे। साथै उनले आफूले उपप्रमुख भएपछि जनताको सेवा र विकास निर्माणका साथै राजधानीका पुरातात्विक महत्वका संरचना संरक्षणमा खेलेको भूमिकाका बारेमा अवगत गराएका थिए।

दुई दिने कार्यक्रममा विभिन्न छ विषयका कार्यपत्र प्रस्तुत गरिने तय भएको र आज अनार बस्नेतले राजनीतिमा आफ्नो अनुभव र विष्णु बस्यालले राजनीतिमा महिलाको उपस्थिति विषयका दुई कार्यपत्र प्रस्तुत गरेका थिए। बाँकी चार कार्यपत्र भोलि प्रस्तुत गरिने केन्द्रका महासचिव हरिप्रिया पाण्डेले जानकारी दिए।

कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिमा महिला सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउँदै पुरानो इतिहास र अनुभव सुनाएर राजनीतिमा सहभागिता गराउँदा अनुशासन बढ्ने र इमान्दारितामा समेत वृद्धि हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १९:४४ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्