Kathmandu Press

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा, चैत ६ : नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ। आगामी वैशाख...
चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा, चैत ६ : नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ। दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन्।

कांग्रेसले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराअघि सारेर घरदैलो अभियान सुरु गरेको छ। पार्टीले जिल्ला समिति, नगर र वडा समितिका सदस्यलाई गृह वडामा परिचालन गरेर चुनावी प्रचारको कामलाई तीव्र बनाएको जनाएको छ। विसं २०७४ को स्थानीय चुनावमा जिल्लाका अधिकांश पालिका गुमाएको कांग्रेस आगामी चुनावमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्य लिएर वडा तथा टोल केन्द्रित कार्यक्रम लिएर अघि बढेको छ।

Hardik ivf

कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले टोलटोल पुगेका नेताले एमसिसी सम्झौताका बारेमा भ्रम र यथार्थ मतदातालाई जानकारी गराउन अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गर्न थालेको बताए। कांग्रेसको केन्द्रीय समितिले तयार गरेको एमसिसीबारेको पुस्तक टोलटोलमा वितरण भइरहेको उनले जानकारी दिए।

उनले कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि साथै पालिका तहका पदाधिकारी टोल, नगरका पदाधिकारीलाई विधानले दिएको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिरहेको बताए। कांग्रेसले स्थानीय तहको निर्वाचन, प्रक्रिया पद्धति, मनोनयन विधि, बुथको सुरक्षा, सिलबन्दी, मुचुल्का तयार गर्दा पार्टीको भूमिका बारेमा कार्यकर्तालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ।

सचिव हुमागाईंले जिल्लाका विभिन्न पालिकामा बुथको सुरक्षाका लागि स्वयंसेवक दस्ताहरु बनाइरहेको बताए। पार्टीको केन्द्रीय नीतिअनुसार नै जिल्लामा ‘एक बुथ १०० युथ’ भन्ने नारा नै तय गरेर युवालाई तालिम प्रदान गरिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १९:०४ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्