कांग्रेसले स्थानीय निर्वाचनका उम्मेदवार चैतभित्रै टुंगो लगाउनेछ : प्रवक्ता महत
सल्यान, चैत ६ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही चैतभित्रै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लागिसक्ने बताएका छन् ।कांग्रेस विधानले...
सल्यान, चैत ६ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही चैतभित्रै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लागिसक्ने बताएका छन् ।
कांग्रेस विधानले उम्मेदवार टुंगो लगाउन केन्द्रदेखि पालिकासम्मै संसदीय समितिको व्यवस्था गरेकाले सो समितिले नै उम्मेदवार टुंगो लगाउने उनको भनाइ थियो।
प्रेस युनियन सल्यानले आज (आइतबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अन्तिम दिनसम्म पनि को उठ्ने भनेर टुंगो नलाग्ने स्थिति यसपटक रहन्न। निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ।’
उनका अनुसार उम्मेदवार छनोटका सन्दर्भमा तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले हेर्नेछ। ‘जुन तहको उम्मेद्वारी हो, त्यही तहमा सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उनले भने। उनले सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे।
कांग्रेसले थालेकाे ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।
पेवक्ता महतले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य पार्टीको भएकाले जो उठाउँदा जितिन्छ, उसैलाई प्राथमिकता दिन सुझाए।











