Kathmandu Press

काठमाडाैंबाट एकै दिन बाहिरिए एक लाख ५६ हजार यात्रु

काठमाडौं, असोज १२ : दशैंका लागि एक दिनमै एक लाख ५६ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घ....

काठमाडाैंबाट एकै दिन बाहिरिए एक लाख ५६ हजार यात्रु

काठमाडौं, असोज १२ : दशैंका लागि एक दिनमै एक लाख ५६ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका हुन्। यो अवधिमा ६० हजार यात्रु मात्रै भित्रिएका छन्।

आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिएका छन्। ‘यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ,’ महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने।

त्यस्तै, काठमाडौंको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको जाम पनि कम भएको छ। ‘आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन,’ पौडेलले भने।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रिँदा यात्रुले जामको समस्या झेल्नुपर्‍यो। रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीको भनाइ छ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा ¥याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए। उक्त र्‍याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ। यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ।

यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन्। उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारवाही गर्नेछन्। धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ।

आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, असोज १२, २०७६