नेकपाको चियापान असोज २९ गते भृकुटीमण्डपमा
काठमाडौं, असोज १२ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष र छठ पर्वको उपलक्ष्यमा काठमाडौंमा चियापान कार्यक्रम आयोजना गर्ने....

काठमाडौं, असोज १२ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष र छठ पर्वको उपलक्ष्यमा काठमाडौंमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रम असोज २९ गते भृकुटी मण्डपमा आयोजना हुने सो पार्टीले जनाएको छ ।
नेकपा केन्द्रीय कार्यालयको आयोजनामा हुने उक्त कार्यक्रम सफल बनाउन महासचिव विष्णु पौडेलले आइतबार विभिन्न विभाग, जनवर्गीय संगठनका पदाधिकारीको बैठक डाकेका थिए ।
बैठकमा सहभागी विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, महासचिव पौडेलले सबै विभाग/फ्रण्टका नेताहरूलाई दशैंअघि नै शुभकामना कार्ड सम्बन्धित व्यक्तिकहाँ पुर्याइसक्न निर्देशन दिएका थिए । ‘महासचिवले नै सम्बन्धित विभागलाई कार्ड वितरण गर्न निर्देशन दिनुभयो, त्यसैअनुसार आ–आफ्नो क्षेमा कार्ड पुर्याइसक्छौँ’, रिजालले भने ।

उक्त चियापान कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, संवैधानिक अंगका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी लगायत सबैलाई आमन्त्रण गर्ने पनि रिजालले जानकारी दिए ।
यसपालिकाे चियापानमा एक लाख कार्ड वितरण गर्ने तयारी नेकपाकाे छ । बैठकमा पार्टीका विभिन्न विभागहरू, युवा, महिला, प्रेस संगठन लगायत सबै मुख्य जनसंगठन र विभागका प्रतिनिधि उपस्थित थिए ।
नेकपाले हरेक वर्ष दशैँको कोजाग्रत पूर्णिमापछि यस्तो चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । याे परम्परा अध्यक्ष मनमाेहन अधिकारीले सुरु गरेका हुन् ।











