एमसीसी राष्ट्रको हितमा छ : गृहमन्त्री खाँण
पाल्पा, चैत ६ : अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हितमा रहेकाले संसद्बाट अनुमोदन गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी...
पाल्पा, चैत ६ : अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हितमा रहेकाले संसद्बाट अनुमोदन गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।
विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी अनुमोदन गरिएको बताउँदै यसले देशमा विकास हुने उनले भनाइ छ। नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले भने, 'एमसीसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्नेछ।'
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए।
स्थानीय निर्वाचन तोकिएकै समयमा हुने उनको भनाइ थियो। उनले भने, 'स्थानीय तहको निर्वाचन हुन्छ। सरकार निर्वाचनका तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउनेछ।'
उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए।
लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउँदै प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिए।











