छाङपाटन मोटरमार्गमा कालोपत्रे
तनहुँ, चैत ६ : तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्रे भएको छ।गाउँपालिकाले ७० लाखको लागतमा मोटरमार्ग कालोपत्रे गरेको हो। एक हजार १५०...
तनहुँ, चैत ६ : तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्रे भएको छ।
गाउँपालिकाले ७० लाखको लागतमा मोटरमार्ग कालोपत्रे गरेको हो। एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए।
मोटरमार्ग कालोपत्रे नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो। मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ। मोटरमार्ग कालोपत्रे भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन्।
कालोपत्रे भएको मोटरमार्गको शनिबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताइन्। सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उनको भनाइ थियो।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताइन्। (रासस)












