Kathmandu Press

मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न चार विद्यार्थी संगठनकाे आग्रह

काठमाडौं, चैत ५ : सत्ता गठबन्धन दलसम्बद्ध चार विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाएको छ।माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नेकपा...
मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न चार विद्यार्थी संगठनकाे आग्रह

काठमाडौं, चैत ५ : सत्ता गठबन्धन दलसम्बद्ध चार विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पारजुली, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले आज (शनिबार) संयुक्त विज्ञप्ति जारी गरेर मूल्यवृद्धि जनताको हितमा नभएको उल्लेख गर्दै फिर्ता लिन आग्रह गरेका छन्।

‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ।’

सरकार र नेपाल आयल निगमसँग विगतमा आफूहरूले गरेको सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो मूल्यवृद्धि तत्काल फिर्ता लिन विद्यार्थी संगठन माग गरेका हुन्।

कोभिड-१९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र त्यसको असर स्वरुप दाल, चामल, तेल, तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मूल्यवृद्धिले चुलोसमेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनता पुगेकाे विज्ञप्तिमा उल्लेख छ।

'खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको कालाबजारी नियन्त्रण गरि जनतालाई राहत प्रदान गर्न र पटकपटक पेट्रोलियम पदार्थमा हुनेगरेको मूल्यवृद्धिको दीर्घकालिन समाधान खोज्न समेत हामी सचेत गराउदछौँ। हाम्रो यो सदासहायतालाई बेवास्था गरिए संयुक्त विद्यार्थी संगठन आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछ। यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार हुनेछ,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्