Kathmandu Press

करिब ७ अर्बको फलफूल आयात

काठमाडौं, चैत ५ : चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ।     सो अवधिमा रु. ६ अर्ब ६० करोड ९१ लाख २८...
करिब ७ अर्बको फलफूल आयात

काठमाडौं, चैत ५ : चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। 
    
सो अवधिमा रु. ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ सय मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो। तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ। छिमेकी मुलुक चीनबाट रु. ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १ सय ३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ। 

नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ। यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलपूmलको परनिर्भरता चुलिँदै गएको देखिन्छ। नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो।  

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो। चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट रु. १ अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट रु २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु. चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

यसैगरी सोही अवधिमा नेपालमा रु. ७८ करोड ५१ लाख १५ हजार ६ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ। नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ। सो अवधिमा भारतबााट रु. ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट रु. ९० लाख ७७ हजार र टर्कीबाट रु. ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल १ करोड ४५ लाख ७० हजार ३ केजी सुन्तलाको आयात भएको छ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट रु. ५३ करोड ९६ लाख ५ हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ। पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ। कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनुपरेको कृषि तथ्यांकले देखाएको छ। 

पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ। १०० मिटरको उचाइदेखि २ हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि १ हजार २०० मिलिमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ।

कागतीलाई सुन खेतीका नामले पुकारिन्छ। झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब रु. १० लाख आम्दानी हुने कृषि विज्ञको भनाइ छ। नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ। तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ। तर आयात भने रोकिएको छैन। चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु. ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ। 

त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु. ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्यांक छ।

यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै रु. १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट रु. दुई करोडको एभोकाडो, भारतबाट रु १६ करोडको खर्बुजा, चीनबाट रु. १३ करोडको नासपाती भारतबाट रु चार करोडको किबी, रु. नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एवं विभिन्न थरीका अन्य फलफूल गरी झन्डै रु. ३ अर्बको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्