दशैंका लागि चार हजार खसीबोका काठमाडौँ पठाइँदै
नेपालगञ्ज, असोज १२ : दशैंका लागि बाँके र बर्दियाबाट चार हजार खसीबोका काठमाडौं पठाउन लागिएको छ।
भारतबाट खसीबोका आयातमा सरकारले रोक लगाएपछि दश....

नेपालगञ्ज, असोज १२ : दशैंका लागि बाँके र बर्दियाबाट चार हजार खसीबोका काठमाडौं पठाउन लागिएको छ।
भारतबाट खसीबोका आयातमा सरकारले रोक लगाएपछि दशैं सुरू भएसँगै अभाव सिर्जना हुन थालेको छ। दशैंमा खसीबोका अभाव हुन नदिने बाँके र बर्दियाका महिला समूहले काठमाडौंलगायत विभिन्न शहरमा खसीबोका पठाउन लागेका हुन्।
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियामा महिला समूहमाफर्त व्यवसायिक बाख्रापालन हुँदै आएको छ। ति समूहमार्फत खसीबोका संकलन गरेर काठमाडौं पठाउन लागिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले बताइन्।
केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भनिन्, ‘अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ। अहिले पनि हामीसँग पाँच सयभन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन्। हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ।’
उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौँ र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको बताइन्।
उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरीद गरेर सहकारी जिल्ला सङ्घमार्फत काठमाडौँ लगायतका शहरमा पठाउने गरेका छन्।
जिउँदो खसी प्रतिकिलो ४५० देखि ५१५ का दरले खरीद गर्दै आएको र ५०० देखि ५५० सम्ममा बिक्री गर्ने गरेको उनले बताइन्। दशैँलाई लक्षित गरी किसानको घरघरबाट सङ्कलन गरिएका ५०० भन्दा बढी खसीबोका सङ्घको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेले जनाएको छ।
सङ्घका अनुसार घटस्थापनासम्म दुई हजारभन्दा बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ।











