Kathmandu Press

लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गरौँ : अर्थमन्त्री शर्मा

काठमाडाैं, चैत ४ : अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गरिनुपर्ने बताएका छन। बैंक तथा वित्तीय संस्थामा रकम...
लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गरौँ : अर्थमन्त्री शर्मा

काठमाडाैं, चैत ४ : अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गरिनुपर्ने बताएका छन। बैंक तथा वित्तीय संस्थामा रकम राख्ने र ब्याज खाने कार्यक्रमको अन्त्य गर्दै उनले कोषको लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन।

शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कोष जस्तै संस्थाले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मुलुकको स्तारोन्नतिका लागि अहिले २० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए। छरिएर रहेका पूँजीलाई एकीकृत गर्दै लगानीमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा लगाउनुपर्नेमा उनको जोड थियो। उनले राष्ट्रिय महत्वका पूर्वाधार परियोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन एक खर्ब बढीका प्रत्यक्ष लगानी कोष खडा गर्नेबारेमा छलफल भइरहेको बताए।

विप्रेषणलाई आप्रवाहलाई वृद्धि गर्न विप्रेषण भित्र्याउँदा लाग्ने शुल्कलाई घटाउने, वैधानिक बाटोबाट मात्रै विप्रेषण पठाउने श्रमिकलाई थप सहुलियत दिने विषयमा आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ। 'आयातमा भएको लगानीलाई घटाउँदै उत्पादनमा लगानी बढाउनुपर्छ,' अर्थमन्त्री शर्माले भने, 'पछिल्ला दिनमा निर्यातमा केही सुधार भएको छ, यसलाई वृद्धि गर्नुपर्छ।'

उनले बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो लिएको भन्दै निस्कृय रहेको पूँजीलाई लगानी गर्नुपर्ने खाँचो अाैंल्याए। आयातमा भएको वृद्धिले शोधनान्तरस्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने, 'उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पर्छ।' नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाइने बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कोषमा सङ्कलित रकम बैंकमा रकम राखेर व्याज लिनेभन्दा पनि नेपालको पूँजी विकास तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा लगानी गरिनुपर्नेमा जोड दिए। उनले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए। सेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण हुने भन्दै कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाइ थियो।

सञ्चालक ईश्वरीप्रसाद अर्यालले सीमित जनशक्तिका बाबजुद सञ्चालन भएदेखि नै कोष नाफामा गएको उल्लेख गर्दै कोषले सीमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्ने बताए। कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष देव गुरागाईंले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेटमार्फत कर छुटको सीमा बढाउनुपर्ने, कोष सरहकै अन्य सङ्घ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा २० वर्ष सेवा पुगेका र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्