Kathmandu Press

सीमित अवधिमा धेरै काम गर्नु छ : मन्त्री झाँक्री

काठमाडाैं, चैत ४ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको...
सीमित अवधिमा धेरै काम गर्नु छ : मन्त्री झाँक्री

काठमाडाैं, चैत ४ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन्। 

मन्त्रालयमा आज एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गरिन्। उनले भनिन्, 'हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ।'

मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन्।

उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताइन्। 'विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौं,' उनले भनिन्। 

छलफलमा एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताइन्।

उनले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिइन्।

हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए। 

छलफलमा सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता थियो। 

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्