विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, चैत ४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। शुक्रबार बिहानैबाट बैठक सुरु हुने भनिएपनि केन्द्रीय कमिटीका सदस्यहरु आउन ढिला गरेपछि बैठक २ बजेपछि सुरु भएको हो।
आजको बैठकले आगामी स्थानीय तहको निर्वाचन र पार्टीको कार्यादिशाबारे छलफल गर्ने बताइएको छ। बैठक कपिलवस्तुको शिवगढीमा सुरु भएको हो।
पार्टीका महासचिव विप्लवले आगमी स्थानीय तहको निर्वाचनको उपयोग गर्ने प्रस्ताव सचिवालयको बैठकमा राखेका थिए। सो विषयमा छलफल गरी निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यसअघिको निर्वाचन बहिष्कार गरेको नेकपाले योपटक भने सहभागी हुनेबारेमा छलफल चलाउन लागेको हो। महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड समेत चुनावको उपयोग गर्ने पक्षमा छन् भने हेमन्तप्रकाश वली र धर्मेन्द्र वास्तोला निर्वाचनमा जान नहुने पक्षमा छन्।











