Kathmandu Press

संवैधानिक नियुक्तिविरुद्धका रिटमा सुनुवाइ, अवरोध खुलाउन माग 

सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर श्रेष्ठ र ईश्वर खतिवडा संलग्न इजलासमा संवैधानिक नियुक्तिविरुद्धका रिटमाथि सुनुवाइ चलिरहेको छ।
संवैधानिक नियुक्तिविरुद्धका रिटमा सुनुवाइ, अवरोध खुलाउन माग 

काठमाडौं, चैत ४ : अध्यादेशको आडमा संवैधानिक अंगमा गरिएको नियुक्तिविरुद्ध दायर भएका रिटमाथि बहस गर्दै रिट निवेदकका कानुनव्यवसायीले निरन्तर सुनुवाइका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको समयमा भएको अवरोध खुलाउन माग गरेका छन् । 

सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर श्रेष्ठ र ईश्वर खतिवडा संलग्न इजलासमा ती रिटमाथि सुनुवाइ चलिरहेको छ।

सुनुवाइका क्रममा रिट निवेदकसमेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले सुनुवाइ रोक्ने गरी जारी गरेको अन्तरिम आदेशले संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध गरेकाले पहिले अड्चन खुलाउनु पर्ने माग गरेका छन्।

न्यायाधीश फुयालको आदेश कायम रहे न्यायमा अराजकता सिर्जना हुन सक्ने जिकिर अर्यालको थियो। त्यो आदेशका कारण न्यायमा अवरोध उत्पन्न भएको भन्दै यस बिषयमा संवैधानिक इजलासबाट ‘न्यायिक टिप्पणी’ सहित बाधा खुलाउन आदेश जारी हुनुपर्ने माग अर्यालको छ। 

गत भदाै १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिट निवेदक गणेश रेग्मीले दिएको एक रिटमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र संवैधानिक निकायका नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश जारी गरेपछि सुनुवाइ अवरुद्ध भएको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश जारी गर्दै संवैधानिक परिषदमा बहुमतका आधारमा अख्तियारलगायत संवैधानिक निकायमा ५२ जना पदाधिकारीको नियुक्ति गरेपछि विवादको रुप लिएको थियो।

निवेदक रेग्मीका तर्फबाट वहश गर्दै तत्कालिन महान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने उक्त मुद्दामा सुनुवाइ गर्न नमिल्ने जिकिर लिएका छन्। अधिवक्ता अर्यालले रिटमाथिको सुनुवाइ नरोक्न माग गरेका थिए।

यसैबीच संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई संवैधानिक इजलासले ‘हेर्दा हेर्दै’ मा राखेको छ। अर्को सुनुवाइ आगामी बुधबारका लागि तय भएको हुनेछ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्