पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
काठमाडाैं, चैत ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको...
काठमाडाैं, चैत ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन।
फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए। नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे। कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा राखे।
पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उहाँले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताए। पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो। नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए। उनले भने, 'कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै कानुनबमोजिम कारबाही गर्छौँँ।'












