महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई
काठमाडाैं, चैत ३ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको छ।महाशिवरात्रिका...
काठमाडाैं, चैत ३ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको छ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्रीलगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताए। कोषले उपलब्ध गराएको फूलमा अन्य जडिबुटी पनि मिसाएर गुर्जोको धुलो र चिया बनाई देशका विभिन्न भागमा निःशुल्क सेवा गरिने भएको छ।
गुर्जोलगायत ६० प्रकारका जडिबुटीमा सयपत्रीलगायत फूल पनि उपयोगी हुने भएकाले कोषसँग लिइएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए। फूलमा अन्य जडिबुटी पनि मिसाएर बनाइने गुर्जोको धुलो र चिया देशभर सञ्चालनमा रहेका गुरुकुलमा लगिने जनाइएको छ। गुरुकुलले चिनी र चियापत्ती मिसिएको चियाभन्दा गुर्जोलगायत जडिबुटीबाट बनेको चिया रुचाएकाले निःशुल्क सेवा गर्न लागिएको अभियानकर्मी राजलवटले सुनाए।
गुर्जोलगायत जडिबुटीबाट बनेको चिया र धुलोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले उपयोगी मानिन्छ। कोरोना र मौसमी फ्लुबाट बच्न गुर्जोको चिया र धुलो सहयोगी हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। गुर्जोलाई संस्कृत भाषामा अमृता भनिन्छ। शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोगी भएकाले यसलाई अमृत अर्थात् अमृता भनिएको हो।
गुर्जोबाट बनेको चिया र धुलो गर्भवती महिला र छ वर्षभन्दा मुनिका बालबालिकाले भने उपयोग गर्नुहुँदैन। न्यून रक्तचाप भएकाले भने यसलाई बिरेनुन वा नुन राखेर खान सक्ने जनाइएको छ। उच्च रक्तचाप हुनेका लागि भने गुर्जोका परिकार राम्रो मानिन्छ।












