महानगरका वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडाैं, चैत २ : वीरगञ्ज महानगरपालिका १४ का वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरूद्ध काठमाडौंकाे विशेष अदालतमा मुद्दा दायर गरेको हाे।
वडाध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडासदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरूद्ध मुद्दा दायर गरेको हो।
घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका राजश्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखेर चलानी किताब कुनै पनि राजश्व चलानी नराखी राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उजुरीमा वडाध्यक्ष भरतप्रसाद र कार्यालय सहयोगी जितेन्द्रप्रसादले मिलेमतो रहेको उल्लेख थियो।
अख्तियारले त्यस उजुरीमाथि अनुसन्धान गर्दा ६ जनाको संलग्नता देखिएको भन्दै मुद्दा दायर गरेकाे हाे।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र बिगोको दोब्बर जरिवाना माग गरेको छ।












