काठमाडौं महानगरले अब तालिका बनाएर निरन्तर बजार अनुगमन गर्ने
काठमाडौं, असोज ११ : काठमाडौं महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ।
चाडपर्वमा मात्रै गर्ने बजार अनुगमन प्....

काठमाडौं, असोज ११ : काठमाडौं महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ।
चाडपर्वमा मात्रै गर्ने बजार अनुगमन प्रभावकारी नभएको भन्दै महानगरपालिकाले अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने भएको हो। महानगरपालिकाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठले) जनाकारी दिए।
अनुगमनको क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने व्यवस्था रहेको छ। ऐनमा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल पाँच हजारदेखि बढीमा तीन लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ।
उपप्रमुख श्रेष्ठका अनुसार पूर्वाधार विकास क्रमशः हुँदै जान्छ तर तत्काल सम्बोधन गरिनुपर्ने जनचासोका विषयमा सावधानी अपनाएर काम गर्नुपर्छ। नेपालको संविधानको अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ। उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ।
पछिल्लो केही वर्षयता अनुगमनलाई चाडबाड लक्षित मात्रै गरिँदा प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो रहेको छ। रासस











