Kathmandu Press

चिनियाँ नेतासँगको भेटमा सभामुख महराले भनरे- सीलाई स्वागत गर्न नेपाल आतुर छ

सिचुवान (चीन), असोज ११ : सभामुख कृष्णबहादुुर महरा र चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वाबीच  भेटवार्ता भएको छ। ....

चिनियाँ नेतासँगको भेटमा सभामुख महराले भनरे- सीलाई स्वागत गर्न नेपाल आतुर छ

सिचुवान (चीन), असोज ११ : सभामुख कृष्णबहादुुर महरा र चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वाबीच  भेटवार्ता भएको छ। 

कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा सभामुख महरासहितको नेपाली प्रतिनिधिमण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो। 

भेटका अवसरमा सभामुख महराले भौगोलिक रुपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा साँस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताए। नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ नियमित र सुदृढ गर्न छेन्दूमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको उनले बताए।

निकट भविष्यमै चीनका राष्ट्रपति सि चिनफिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै सभामुख महराले सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिए। उनले जनवादी गणतन्त्र चीनको ७० औं वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध झनै मजबुत र बलियो बन्नेमा विश्वास व्यक्त गरे। 

बेल्ड एण्ड रोड परियोजना सम्बन्धी सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको जनाउँदै सभामुख महराले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार बनाउन पनि सबैसँग सहकार्य गर्दै अघि बढाउने बताए।

भेटमा सीपीसीका सिचुवान प्रान्त सेक्रेटरी पेङले चीन–नेपालबीचको सम्बन्ध सयौं वर्ष पुरानो रहेको बताउँदै दुई देशका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीच विशिष्ट सम्बन्ध रहेकोमा खुसी व्यक्त गरेका थिए। 

चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन् उचाइमा जाने विश्वास गर्दै पेङले चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने बताएका थिए। 
 

प्रकाशित मिति: ०८:४१ बजे, शनिबार, असोज ११, २०७६