टोनी हेगनको तस्बिर सङ्ग्रह विमोचन
काठमाडौं, असोज १० : विश्वविख्यात भूगर्भशास्त्री डा. टोनी हेगनले खिचेका तस्बिरहरुको सङग्रह ‘टोनी हेगनः फोटोज अफ काठमाडौँ भ्याली’ १९५०&mdash....

काठमाडौं, असोज १० : विश्वविख्यात भूगर्भशास्त्री डा. टोनी हेगनले खिचेका तस्बिरहरुको सङग्रह ‘टोनी हेगनः फोटोज अफ काठमाडौँ भ्याली’ १९५०—१९६० को विमोचन भएको छ ।
नेपाल सम्पदा सङ्घले उक्त पुस्तक प्रकाशन गरेको हो । हेगनले नेपाल भ्रमणका क्रममा सन् १९५० देखि १९६० सम्म खिचेका तस्बिरहरु सो पुस्तकमा समावेश गरिएको छ । पुस्तकमा तत्कालीन काठमाडौँ, ललितपुर र भक्तपुरको शहरी तथा स्थानीय जनजीवन, सम्पदा र संस्कृतिका विविध पक्ष तथा राणाकालीन भौतिक पूर्वाधार आदि विषयलाई क्यामेरामा कैद गरिएको सामग्री समेटिएको छ । हेगनको फोटोग्राफीसम्बन्धि यो पहिलो पुस्तक हो । पुस्तकको हेगनकी छोरी डा कट्रिनले सम्पादन गरेकी हुन्।

विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमबीच युरोपेली सङ्घ (ईयू) का राजदूत भोरोनिका कोडीले सो पुस्तकको विमोचन गरे ।
सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले सम्पदा कुनै पनि मुलुकको साझा सम्पत्ति मात्र नभई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै चर्चित पदयात्री हेगनको फोटोग्राफीसम्बन्धी पुस्तकले नेपालको पर्यटन प्रवद्र्धनका साथ नजिकिएको भ्रमण वर्ष अभियानलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
डा कट्रिन हेगनले आफ्ना पिता सबै नेपाल र नेपालीलाई माया गर्ने भएकाले नेपालको रहनसहन र जीवनशैलीलाई समेट्न हजारौँ तस्बिर सङ्कलन गर्नुभएको र त्यसमध्येको यो केही तस्बिर समेटिएको पुस्तकले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
सन् १९५० अक्टोवर २४ मा पहिलो पटक नेपालको आएका टोनी हेगनले नेपालका ५७ ९हालको ७७० जिल्लाका करीब ४० हजार किलोमिटर पैदल यात्रा सम्पन्न गरेका थिए।
जन्मभूमि स्वीटजरल्याण्ड भए पनि आफ्नो जीवनको धेरै समय नेपालमा विताएका हेगनले सगरमाथा नेपालमा छ भनेर विश्वलाई चिनाएका थिए। नेपालमा स्वीस सहयोग भित्र्याउन पनि उनको अतुलनीय योगदान छ । हेगनको ८५ वर्षको उमेरमा सन् २००३ को अप्रिल १८ मा निधन भएको थियो ।











