Kathmandu Press

छात्रावास बनाउन रकम सङ्कलन

बेनी, चैत १ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम...
छात्रावास बनाउन रकम सङ्कलन

बेनी, चैत १ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट रु २७ लाख ३५ हजार ४५४ सङ्कलन भएको हो । 

उक्त रकमबाट स्थानीय गङ्गाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा रु २५ लाखमा खरिद गरिएको विद्यालयका प्रअ कृष्णलाल सापकोटाले जानकारी दिए । उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको रु ७० लाख लागतमा दुईतले चारकोठे छात्रावास भवन निर्माण गत वर्ष नै सम्पन्न भइसकेको छ।

Hardik ivf

प्रदेश सरकारको रु ५० लाख सहयोगमा एक सय जनाको क्षमता रहने नयाँ भवन निर्माण पनि सुरु गरिएको छ । सोमबार विद्यालयमा कार्यक्रम आयोजना गरी चन्दादातालाई सम्मान गरिएको छ । अर्थ सङ्कलन अभियानमा जोडिएका देश–विदेशमा रहेका बरङ्जावासी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारीलगायतलाई सम्मान गरिएको हो । 

उक्त अभियानमा विद्यालयको मुक्तिनाथ र प्रभु बैंकको खातामा रहेको बचत रकम रु पाँच लाख ८० हजार ५०० समेत परिचालन गरिएको थियो । सङ्कलित रकमबाट जग्गा खरिदसहित विभिन्न प्रयोजनमा करिब रु २७ लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले जानकारी दिए। 

कार्यक्रममा  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानी गरेको तर लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए। जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरी रु एक करोडभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन हुने गरेको जनाइएको छ । 

कार्यक्रममा मङ्गला–३ बरङ्जाका वडाध्यक्ष कविन्द्र रोकाले महेन्द्ररत्न माविले शिक्षामा अग्रणी स्थान हासिल गरेको बताए । बरङ्जाकै धापुङ, महेश, दुर्दी, झाँक्रीपानीलगायतका स्थानबाट करिब डेढ घण्टा लगाएर विद्यालय आउने विद्यार्थीलाई छात्रावास बनेपछि सहज हुने अपेक्षा गरिएको छ।  

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्