Kathmandu Press

गाई मरेको शोकमा १३ दिने काजकिरिया

गाई मरेको शोकमा १३ दिने काजकिरिया

चितवन, चैत १ : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु  नौलो कुरा होइन। तर, चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको शोकमा किरिया बसेका छन्।

भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको हो।

Hardik ivf

उनी १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन्। उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन्।

निरञ्जननाथले भने, 'गौशालामा पालिएका गाई आफ्नो माता समान हुन्। गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ। गाईको सेवामा नै जीवन बिताउनेछु।'

योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो। यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन्। गौ संरक्षण केन्द्रमा दुई सयको हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए।

गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ।

आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ। हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ। (रासस)

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्