Kathmandu Press

१४७ अतिविपन्नलाई महानगरबाट जनही १० हजार सहयोग : ‘एक महिना टार्ने हो’

अर्थ मन्त्रालयले कार्यविधि बनाएको छ, ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ ।  यही अनुसार काठमाडौं महानगरपालिकाले १६ करोड ५० लाख रुपैयाँ पाएको थियो । 
१४७ अतिविपन्नलाई महानगरबाट जनही १० हजार सहयोग : ‘एक महिना टार्ने हो’

काठमाडौं, फागुन ३० : ‘६ हजार रुपैयाँ कोठाभाडा तिर्छु, चार हजार रुपैयाँको चामल, तेल किनिराख्छु’ यो महिना त जसोतसो टर्ला, अर्काे महिना के गर्ने ?’ ४६ वर्षीय सुमन रायमाझी भने । 

उनले फागुन ३ गते सानिमा विकास बैंकबाट १० हजार रुपैयाँ निकाले, जुन रकम उनलाई काठमाडौं महानगरपालिका (कामनपा)ले दिएको हो । कोभिड १९ को प्रभावबाट रोजगारी गुमाएका र कुनै रोजगारी वा व्यवसाय नभएका एक सय ४७ विपन्न परिवारलाई कामनपाले जनही १० हजार रुपैयाँ उपलब्ध गराएको छ । 

दुई सन्तानका अभिभावक सुमनको एक हात र एक खुट्टा चल्दैन । उनकी श्रीमतीले पनि कोरोनाका कारण केही काम पाएकी छैनन् । उनकी श्रीमतीले कोरोनाअघि कपडा कारखानामा काम गर्थिन् । कोरोनाका कारण उनको रोजगारी गुम्यो । अहिले दुई सन्तानसहित चारजनाको परिवारलाई दुई छाक जुटाउन मुस्किल परिरहेको सुमन दुखेसो पोख्छन् । 

Hardik ivf

महानगरबाट १० हजार रुपैयाँ भए पनि सहयोग पाउँदा उनी खुसी देखिन्थे । तर, उनी आफ्नो समस्याको दीर्घकालीन समाधान चाहन्छन् । त्यसैले उनले आफूले सक्ने काम र श्रीमतीको रोजगारीका लागि आफन्त–साथीभाइलाई गुहारिरहेका छन् । ‘सक्ने भए भारी बोक्न पनि जान्थेँ । सक्दिनँ, अशक्त छु,’ सुमन भन्छन्, ‘श्रीमतीलाई कहीँकतै रोजगारी पाइएको छैन ।’

महानगरबाट १० हजार रुपैयाँ सहयोग पाउनेमा ५३ वर्षीय विजय थापा पनि हुन् । ०७० सालदेखि काठमाडौंका विभिन्न स्कुल तथा संस्थामा उनले खेलकुद सिकाउँथे । विद्यालय बन्द भएसँगै उनको रोजगारी गुम्यो । ‘गेम खेलाउन नपाएपछि दैनिक गुजारा चलाउन मुस्किल प¥यो, त्यसैले महानगरको फर्म भरेको थिएँ,’ विजय भन्छन्, ‘१० हजार रुपैयाँ पाउँदा पनि एक महिनाको रुम भाडा र एक बोरा चामल किन्न पाएँ ।’ 

बर्दियाका थापा २३ वर्षदेखि काठमाडौंमा एक्लै बस्दै आएका छन् । उनले वडाको सिफारिस र नागरिकताको फोटोकपीसहित गत मंसिरमा फर्म भरेका थिए । 

१४ लाख ७० हजार वितरण 

अर्थ मन्त्रालयले कार्यविधि बनाएको छ, ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ ।  यही अनुसार काठमाडौं महानगरपालिकाले १६ करोड ५० लाख रुपैयाँ पाएको थियो । 

कामनपाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार, नगद वितरणका लागि आवेदन मागिएको थियो । कात्तिक २५ देखि मंसिर १० सम्म म्याद तोकिएकामा सहयोगका लागि एक सय ६० परिवारको आवेदन परेको थियो । तीमध्ये एक सय ४७ परिवारलाई रकम वितरण गरिएको हो । ‘रकम प्राप्त गर्नका लागि तोकिएको नियम अलि कडा भएकाले थोरै व्यक्ति परेका हुन्,’ प्रवक्ता डंगोल भन्छन्, ‘अतिविपन्न परिवार र परिवारका सदस्य कसैको पनि रोजगारी नभए मात्र यो रकम पाउने नियम थियो ।’ 

आवेदनका लागि नागरिकताको फोटोकपी, सानिमा बैंकको खाता नम्बर, वडाको सिफारिस आवश्यक गरिएको थियो । 

परिवारको कुनै पनि रोजगारी नभएको, सरकारी कोषबाट भत्ता नपाउने, रिक्सा चालक, सडक फुटपाथमा सामग्री बेच्ने लगायत परिवारलाई यो रकम दिइएको प्रवक्ता डंगोल बताउँछन् । 

बालबालिकालाई मासिक तीन हजार 

कोरोनाका कारण अभिभावक (बा–आमा) गुमाएका १८ वर्षमुनिका बालबालिकालाई मासिक तीन हजार रुपैयाँ दिने कामनपाले जनाएको छ । ‘यो रकम प्रदेश सरकारबाट प्राप्त हुन लागेको हो,’ प्रवक्ता डंगोल भन्छन्, ‘कोरानाका कारण आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा–स्वास्थ्य र बसोबासका लागि सहयोग दिन लागिएको हो ।’ यसको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए। 

वागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको बजेट व्यवस्थापन शाखा प्रमुख चन्द्रकुमारी व्यञ्जनकार बाआमा गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँ दिने भनी चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट छुट्ट्याएको बताउँछिन् । ‘गत महिना वागमती प्रदेशभित्रका एक सय १९ स्थानीय तहलाई सूचना दिएका थियौँ, अहिलेसम्म तीनवटा तहले बा–आमा गुमाएका बालबालिका नभएको भन्दै पत्र पठाएका छन्।’ 

अन्य स्थानीय अहिलेसम्म कुनै सूचना नपठाएको उनले बताइन् । ‘स्थानीय तहले बा–आमा गुमाएका बालबालिकाको तथ्यांक दिए मन्त्रालयले नै रकम दिन्छ,’ उनले भनिन्, ‘बालबालिकाको नाममा बैंक खाता खोली मासिक रूपमा सुरक्षा खर्च शीर्षकमा तीन हजार रुपैयाँ दिन लागिएको हो ।’ 
यो सहयोग पाउनका लागि बालबालिकाले आफू वाग्मती प्रदेशभित्रकै भएको प्रमाणपत्र, कोरोनाका कारण बा–आमाको मृत्यु भएको प्रमाणपत्र, आफू १८ वर्ष नपुगेको प्रमाणपत्र र स्थानीयतहको सिफारिस बुझाउनुपर्छ। 
 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्