इन्डो प्यासिफिक खुला, उदार र समावेशी विकासका लागि : अमेरिकी राजदूत बेरी
काठमाडौं, असोज १० : अमेरिकी राजदूत र्याडी बेरीले अमेरिकन सरकारले नेपालमा खुला, उदार र समावेशी विकासमा साझेदारी गर्दै आएको र त्यही नै इन्डो प्यासि....
काठमाडौं, असोज १० : अमेरिकी राजदूत र्याडी बेरीले अमेरिकन सरकारले नेपालमा खुला, उदार र समावेशी विकासमा साझेदारी गर्दै आएको र त्यही नै इन्डो प्यासिफिक रणनीति भएको बताएका छन्।
शुक्रबार इन्स्टिच्युट फर स्ट्राटेजी एण्ड सोसियो–इकोनोमी रिसर्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत बेरीले आफूहरुले नेपाल सरकारले उक्त रणनीतिमा हस्ताक्षर गर्न नभनेको र नभन्ने पनि बताए। उनले ७० वर्षभन्दा पहिलादेखि अमेरिकाले नेपालको विविध क्षेत्रको विकास, सुधार र नेपालीहरुको ज्ञान र क्षमता अभिवृद्धिमा काम गरेको र सही नै हिन्द-प्रसान्त क्षेत्रमा उक्त रणनीति भएको बताए।
‘हामी सबै देशमा कानुनी शासन, सशक्त लोकतन्त्र, खुला अर्थतन्त्र होस् भन्ने चाहन्छाैं’ राजदूत बेरीले भने, ‘यसलाई नै हामीले हिन्द–प्रसान्त क्षेत्रका देशहरुमा लागू होस् भन्ने चाहन्छाैँ र यसबाट कसैलाई पनि अलग्याउने हाम्रो नीति छैन।’
राजदूत बेरीले इन्डो प्यासिफिक रणनीतिले हिन्द प्रशान्त क्षेत्रका देशहरुलाई कसरी खुला, उदार र सुरक्षित क्षेत्र बनाउने भन्ने मात्रै इन्डो प्यासिफिक रणनीतिको उद्देश्य रहेको पनि बताए। उनले उक्त रणनीति कुनै सैन्य वा सदस्यतामा आधारित रणनीति नभएको पनि स्पष्ट पारे।
‘इन्डो प्यासिफिक रणनीति न त सैन्यवेस नै हो न त सदस्यतामा आधारित। त्यसैले हामीले यसमा सहभागी हुन नेपाललाई कहिल्यै भनेका छैनौं’ बेरीले भने, ‘यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा स्पष्ट भनिसक्नु पनि भएको छ।’
उनले इन्डो प्यासिफिक रणनीतिमा अझैसम्म कोही पनि सहभागी नभएको बताउँदै उनले यो सदस्यतामा आधारित रणनीतिको रुपमा बुझ्न नहुने बताए।
डिपार्टमेन्ट अफ डिफेन्सले दस्तावेजमा इन्डो-प्यासिफिक रणनीति आएकाले सैन्य रणनीति हो कि भन्ने बुझिएको बताउँदै राजदूत बेरीले भने, ‘हिन्द प्रसान्त क्षेत्रको सुरक्षा मुख्य विषय हो यो क्षेत्रलाई खुला र उदार राखिराख्न। तर यो नयाँ होइन, दोस्रो विश्व युद्धपछि देखिकै हो।’






