Kathmandu Press

चितवन जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा

चितवन जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा

रत्ननगर, फागुन ३० : चितवनमा जिल्लाकै सबैभन्दा बढी क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो। चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उक्त शीत भण्डारमा  दुई हजार ५०० मेट्रिक टन सामान अटने क्षमताको रहेको  संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताए। 

सरकार, सहकारी र व्यक्तिको लगानीमा सञ्चालनमा ल्याइएकोे शीत भण्डारको लागत करिब रु १७ करोड पुगेको उनले जानकारी दिए। शीत भण्डारमा जिल्लाका ५४ सहकारी संस्था र ९४९ जनाको शेयर लगानी रहेको छ। 

Hardik ivf

शीत भण्डार सञ्चालनका लागि सहकारी विभागले पाँच करोड ८१ लाख ४८ हजार, बागमती प्रदेश सरकारले रु ५७ लाख ९१ हजार, भरतपुर महानगरपालिकाले चार लाख ८२ हजार उपलब्ध गराउनाका साथै संस्थाको शेयर पूँजी आठ करोड ६१ लाख ४२ हजार तथा नेपाल बङ्गलादेश बैंकको कर्जा रु दुई करोड ९५ लाख व्यहोरिएको थियो । 

परियोजनाको सम्पूर्ण काम सक्न थप रु दुई करोड लाग्ने भएकाले सहकारी विभागसँग सम्झौता गरेर काम अगाडि बढाइने भएको छ। 

उक्त शीत भण्डारले किसानका सामान न्यून मूल्यमा भण्डार गरेर राख्ने जनाइएको छ । चितवनको नारायणगढ बजारमा निजी स्तरबाट सञ्चालित शीत भण्डारमा त्यहाँ उत्पादित सामग्री राख्न ठाउँ अभाव भएपछि किसानले आफ्ना सामग्री भण्डारणका लागि  अन्य जिल्लामा लैजानुपर्ने बाध्यता थियो। चनौलीका किसान विश्वनाथ न्यौपानेले अब आफूहरुले उत्पादन गरेको खाद्यान्नलगायत बालीहरु नजिकै भण्डारण गर्न पाइने भएकामा खुसी व्यक्त गरे।

‘हामीले उत्पादन गरेको सामग्रीहरु जिल्लाबाहिर लगेर भण्डारण गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब गाउँमै ठूलो कोल्ड स्टोर सञ्चालनमा आएपछि तरकारी खेतीतर्फ लाग्न अझै प्रेरित गरेको छ।’ आलु खेती गर्दै आएका न्यौपानेले आगामी दिनमा अन्य तरकारी बालीसमेत उत्पादन गर्न र बजार मूल्य नआएका बखत भण्डारण गरेर राख्न सहज हुने बताए। उक्त  शीत भण्डार पाँच तलाको छ । शीत भण्डारमा स्थानीय किसानले उत्पादन गरेका आलु, प्याज, लसुनसहित अन्यत्रबाट ल्याइएका फलफूल तथा तरकारी राखिने छ। 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्