कृषि विकास बैंक ह्याक प्रकरणः थप तीन जना पक्राउ
काठमाडौं, असोज १० : कृषि विकास बैंकको लहान शाखाबाट सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ चोरी भएको घटनामा संलग्न भएको आरोपमा थप तीन जना पक्राउ परेका छन्।....

काठमाडौं, असोज १० : कृषि विकास बैंकको लहान शाखाबाट सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ चोरी भएको घटनामा संलग्न भएको आरोपमा थप तीन जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भट्टलाई महेन्द्रनगर, मालतीदेवीलाई पर्वत र पर्वतका गणेश बस्याल गंगबुबाट पक्राउ गरिएको हो। भट्टको खातमा ४५ लाख र मालतीदेवीको खातामा २४ लाख रुपैयाँ भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका बस्याल भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसँग सम्पर्क हुने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानबाट मालतीदेवी र यसअघि पक्राउ परिसकेका रामकृष्ण भुसाललाई बस्यालले रकम पठाउन लगाएको खुलेको एसएसपी थापाले जानकारी दिए।
बैंकको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले यसअघि नै १३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ।
ह्याकरले बैंकको लहान शाखामा रहेको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको खातामा पठाएर निकालेका थिए।











