Kathmandu Press

नेपाल असोज १३ मा खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, असोज १० : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ। आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा....

नेपाल असोज १३ मा खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, असोज १० : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ। आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पूरा भएको खानेपानी मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। खानेपानी मन्त्री बिना मगरले यो आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पूरा भएको बताइन्।

मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिइन्। ‘नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ’ मन्त्री मगरले भनिन्,‘सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ। नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियानतर्फ अग्रसर हुनेछौं।’

मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी दिइन्। उनले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको बताइन्।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताए।  सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको स्पष्ट पारेका थिए।

मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन्।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ। देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं,’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, असोज १०, २०७६