बैंकले थप लगानी नगर्दा दशैंमा व्यवसायीले किन्न सकेनन् नयाँ गाडी
काठमाडौं, असोज १० : बैंकहरूले लगानी नगर्दा यस वर्ष दशैंमा यातायात व्यवसायीले नयाँ बस खरिद नगरेको बताएका छन्। विगतका वर्षहरूमा दशैंमा पाँच सय ठूला नयाँ....

काठमाडौं, असोज १० : बैंकहरूले लगानी नगर्दा यस वर्ष दशैंमा यातायात व्यवसायीले नयाँ बस खरिद नगरेको बताएका छन्। विगतका वर्षहरूमा दशैंमा पाँच सय ठूला नयाँ बसहरु थप्दै आएका व्यवसायीले यसपटक खरिद गरेनन्।
सिन्डिकेटको नाममा यातायात व्यवसायी र सरकारबीचको एक वर्षदेखिको विवादले गर्दा नयाँ बस खरिद नगरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। कम्पनीमा रुपान्तरण गरेपछि बैंकहरुले पनि लगानीको असुरक्षाका कारण लगानी नगर्नाले नयाँ बस खरिद गर्न नसकिएको अध्यक्ष कर्माचार्यको भनाइ छ।
‘यातायात समितिहरूको करोडौ रुपैयाँ सरकारले रोक्का गर्दा बैंकहरूले समेत बसमा लगानी नगरेका हुन,’ अध्यक्ष कर्माचार्यले भने। केही समय अगाडि मात्रै समस्या समाधान भएकाले अब तिहारपछि मात्रै नयाँ बस ल्याउने उनले बताए।
सरकारले कम्पनीमा दर्ता गर्न दवाव दिँदै समितिमार्फत यातायात सञ्चालनमा रोक लगाएको थियो। ‘सरकार र व्यवसायीको विवादले समस्या आएको थियो, अब सबै कम्पनीमा गइसके र समितिको रकम पनि फुकुवा भएको छ,’ अध्यक्ष कर्मचार्यले भने।
गत वर्षजस्तो यो वर्ष पाँच सय नयाँ बस नआएपनि अहिले चलेकाभन्दा दोब्बरको संख्यामा बसहरू भएकाले दशैंमा यात्रुलाई आवतजावत गर्न समस्या नपर्ने उनले बताए।
उनका अनुसार, यस वर्ष दशैंमा उपत्यबाट १९ देखि २० लाख यात्रु सार्वजनिक यातायात प्रयोग गरेर बाहिरिने अनुमान छ। काठमाडौंबाट थानकोट, कोटेश्वर, सातदोवाटो, दक्षिणकाली, बालाजु, टोखा, बौद्ध नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन्। सवैभन्दा धेरै भने थानकोट नाकाबाट बाहिरने गरेका छन्।












-(7)-1765197040.jpg)